आकाशिदो अलैंचीको बजार भाउ

फुङलिङ -ताप्लेजुङ, जेष्ठ ४ -
अलैंचीको मूल्यले यो साता नयाँ रेकर्ड कायम गरेको छ । जेठको पहिलो दिनबाटै उकालो लागेको अलैंची बजार लगातार बढ्दै नयाँ रेकर्डमा पुगेको हो ।

अलैंचीको बजार भाउ मंगलबार प्रतिमन ३६ हजार पुगेको अलैंची व्यवसायी संघले जनाएको छ । यो हिसाबले अलैंची किलोको ९ सय रुपैयाँ पर्न आउँछ । संघका अनुसार अलैंचीको खपत नियमित तेस्रो मुलुकमा भइरहँदा मूल्य आकासिएको हो । स्वदेशी बजारमा अलैंची नभएको, भएको जति सबै भारत हँुदै तेस्रो मुलुक पुगेकाले मूल्य आकासिएको संघका अध्यक्ष खड्गबहादुर मोक्तानले बताए । उत्पादनका हिसाबले राम्रो आम्दानी दिने नगदे बालीका रूपमा रहेको अलैंची अघिल्लो वर्ष ८ हजार रुपैयाँ प्रतिमनमा कारोबार भएको थियो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश अधिकारी भरपर्दो आम्दानीको स्रोत मानिएको अलैंचीको मूल्य बढ्दा पहाडी क्षेत्रका बासिन्दाको आर्थिक अवस्थमा सुधार आउने बताउँछन् ।पहाडी क्षेत्रका ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लामा अलैंची उत्पादन हुँदै आएको छ ।

ताप्लेजुङ नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्ला हो । यो वर्ष मात्रै जिल्लाले अनुमानित १ अर्ब २० करोडभन्दा बढीको अलैंचीको कारोबार गरेको उद्योग वाणिज्य संघले जनाएको छ । -कांतिपुर दैनिक बाट साभार